Contact Us

Details » Sucess Stories

परियोजनाले सफल बनायो श्रीबतीलाई

Date : Mar 30, 2009
परियोजनाले सफल बनायो श्रीबतीलाई
पुस महिनाको कठांग्रीदों जाडोमा अन्य छिमेकीहरु बाक्ला लुगा लगाएर घुर (आगो) ताप्दै गर्दा एका विहानै सिनुरजोडा–२, सोहनी धनुषाका श्रीबती यादव आफ्ना वस्तुभाउ सारेर, घाँस पराल राखी घर, आँगन, गोठ खोर सफा गरि दुग्ध बेच्न जनकपुर तिर लाग्छीन । उठौनामा (नियमित रुपमा लिने ठाँउ) दुग्ध जम्मा गरि हतारिदै आएर भान्साको काम सकी वारिमा काम गर्न जान्छीन, अनि दिउँसो कहिले विधालय ब्यवस्थापन समितिको बैठक त कहिले समाजिक कामहरु वा आफ्नै समूहको गतिविधिहरुमा ब्यस्त हुन्छिन् । अहिले उनको दैनिकी यसरीनै बेफुर्सतिलो भएर वितिरहेको छ । उनी यसरी ब्यस्त हुन थालेको धेरै भएको छैन ।  

हेफर ईन्टरनेशनल नेपालको सहयोगमा समाज उत्थान यूवा केन्द्रद्धारा फेब्रुअरी, ०९ देखि सोहनी समूदायमा एकिकृत आधारभुत पशु तथा भु–उत्पादकत्व ब्यवस्थापन परियोजना संचालन गरिनु पुर्व संस्थाद्धारा गठन गरिएको जानकी महिला बचत समूहमा उनी सहभागी भएकी थिईन । परियोजना संचालन हुन थाले पछि समूहको हरेक गतिविधिहरुमा सक्रिय रुपमा सहभागी हुन तथा तालिमहरुबाट  सिककेका कुराहरुलाई ब्यवहारमा उतार्न थालिन । 

स–साना कुराहरुलाई पनि गम्भिर रुपमा लिएर मिहनेत गर्ने बानी रहेको उनको समूहमा पढन लेख्न जान्ने कोही छैन । समूहको बैठक लगायत लेखापढी गर्नु पर्ने सम्पुर्ण काम परियोजना कर्मचारी वा गाउँका अन्य कुनै ब्यक्ति बाट गराउनु पर्ने उनको समूहको नेतृत्व उनैले सम्हालेकी छिन । सामान्य अक्षरको ज्ञान समेत नभएकी उनले समूहको हर हिसाब देखि तालिममा छलफल गराईएका विषय वस्तुहरु समेत कण्ठै गरेर जस्ताको तस्तै अरुहरु समक्ष प्रस्तुत गर्न सक्छीन । 

परियोजना द्धारा उपहार स्वरुप दिईएको करेशावारी तरकारी वीउ बाट जैविक तरिकाको तरकारी उत्पादन गर्न थालेर रु १९ हजार वार्षिक आम्दानी गर्न उनी सफल भएकी छिन भने चरण तथा आहार ब्यवस्थापन तालिम पश्चात प्राप्त गरेका घाँसको वीउ, कटिङ्गहरुको राम्रो प्रबर्धन गरि यस पाली नेपियरको कटिङ्ग १ हजार ५ सय र किम्बुको कटिङ्ग १ हजार २ सय विक्रि गरेकी छिन तथा  ब्यक्तिगत रुपमा थप २ हजार ५ सय किम्बुको कटिङ्ग गरी ब्यवसायिक रुपका तराई निजि वनलाई बेच्न भनि नर्सरी लगाएका छन, र यस पाली करिव ३ किलो ग्राम मेन्दोला, १ किलो ग्राम भटमासेको विउ संकलन गर्ने योजना बनाएकी छिन ।यसरी नै उनले परियोजना बाट प्राप्त गरेकी १० वटा बाख्राहरुलाई राम्ररी ब्यवस्थापन गरि उत्पादन भएको खसि बेचेर रु १७ हजार नगद आम्दानी गरेकी छिन भने १० वटै बाख्रा उपहार समूहका सदस्यहरुलाई उपहार गरि सकेकी छिन ।

परियोजनाको गतिविधिहरुमा आफु मात्रै होईन आफ्ना समूहका सदस्यहरु लगायत आफ्ना परिवारका अन्य सदस्य र छिमेकीहरुलाई पनि त्यतिकै सक्रिय गराउने उनको प्रयासले समूह बाट १० हजार रुपैया ऋण लिई हमिदा खातुनले गरेको फलफुल ब्यपार बाट मासिक रुपमा ४ हजार रुपैया, खैरुन खातुनले ११ हजार ऋण लिई गरेको सिंदुर पोते र चुराको ब्यपार बाट मासिक रुपमा ६ हजार रुपैया सम्म आम्दानी गरिरहेकी छिन भने उनको समूहका अन्य सदस्यहरुले समेत कुनै न कुनै आय आर्जनका काम थालेर आफु र आफ्ना परिवारलाई आम्दानी गराई रहेका छन ।

यसरी परियोजनामा सहभागी भए पश्चात आफ्नो जीवनमा धेरै सफल्ता प्राप्त भएको बताउने श्रीवतीले आफ्नो पुरानो जीवनका अनेकौ दुःख र पिडाहरुलाई समेत विर्सेकी छैन्न । करिव १२ वर्षको कलिलै उमेरमा माईत कुशुम विछौना–२, धनुषा बाट २८ वर्ष पहिला विवाह गरि सोहनीमा पाईला टेकेकी उनी विवाह पछि खान र लाउनकै निम्ति अनेकौ संघर्ष गर्नु परेको कुरा सुनाउछिन । परिवारको जेठी बुहारीको रुपमा उनी घर भित्र्याईए पछि सुस्त मनस्थिती भएकी बुढी सासु लगायत आफु भन्दा कान्छो तिन वटा देवर तथा बुढो सुसुराको सम्पुर्ण जिम्मेवारी बहन गर्नु पर्दा श्रीमान मात्रैको वर्ष भरिको कमाईले ३ महिना पनि परिवारलाई खान पुग्ने अवस्था थिएन ।

सम्पतीको नाउँमा घर र १० कट्ठा खेती गर्ने वारी बाहेक केहि नभएकाले श्रीमानलाई अरुको खेत अधियामा लिएर खेती गर्ने सल्लाह दिई आफु समेत रात दिन मिहनेत गरेर काम गर्न थाली । गाउँकै मस्ती यादवको थप १ विगहा खेत अधियामा लिएर खेती गरे देखी उनको परिवारले बल्ल राहत अनुभव गर्न थालेको र त्यस पछि पोसियामा अर्को एक जनाको भैसी लिएर पाल्न थालेकोले थप बल पुगेको उनी बताउछिन । 

पछि देवरहरु पनि ठुला हुदै गए, उनीहरुको विवाह भयो, ३ वटी देवरानी घरमा आए, उनको आफ्नै पनि एउटी छोरी र दुई छोराहरु भए परिवार अझ ठुलो भएर गयो । सामन्यतया मधेशमा दाजुभाई सबैको विहावारी हुनै वितिकै छुटिने समाजिक वातावरण भएको परिवेशमा पनि अहिले सम्म सबैलाई समेट्दै संयूक्त रुपमा बसेर सबैजना मिहनेतले कमाउने र खुसी साथ बस्ने गरिरहेको श्रेय पनि परिवारका अन्य सदस्यले उनैलाईनै दिने गरेको छ । अहिले श्रीबतीको परिवारले आफ्नै दुई वटा लईनो भैसी, १ विगहा जग्गा र थप १ कट्ठा घडेरी किनेको छ र सबै जना आनन्द साथ जीवन यापन गरिरेको छ । गत वर्ष आदर्श रुपमा छोरीको विवाह सम्पन्न गरे लगतै ससुरा वित्यो, ससुराको काज क्रिया सम्पन्न गरेको छ महिना भित्रै जेठो छोराको विवाह गर्नुपर्दा समेत उनलाई अहिले कुनै किसिमको आर्थिक अभाव नभएको उनी खुसी हुदै सुनाउछिन । कान्छो छोरालाई समेत जनकपुरको ईन्जिनियरिङ्ग कलेजमा डिप्लोमा पढाई रहेकी छिन ।  

आफ्नो जीवनको आरेह अवरोहहरुलाई सम्झिदै उनी भन्छिन,“मेरो जीवन राम्रो र सम्पन्न म आफैले बनाउनु पर्छ भन्ने मैले लक्ष्य पहिलै लिएको भए पनि हेफर संगको साझेदारमा समाज उत्थान यूवा केन्द्र द्धारा संचालित बिकल्प परियोजनाले मलाई अगाडी बढन बाटो देखाउने जुन काम गरेको छ त्यो मेरोलागी अमुल्य छ, त्यसमा पनि हेफरले तय गरेका आधारशिलाहरुको १२ वटा बुंदाहरुलाई म कहिल्यै विर्सन सक्दिन ।” आधारशिलाको १२ वटै बुंदाहरुले आफ्नो जीवनमा कहिल्यै नमेटिने प्रभाव पारेको र सोही आधारशिलाहरुमा रहि आफ्नो ब्यक्तिगत र परिवारिक भावी योजनाहरु बनाउने र विगत योजनाको मुल्यांकन गर्ने उनी ९ नं. को वातावरण सुधार आधारशिलाई सबै भन्दा बढी आत्मसाथ गरेको तथा यसै आधारशिलाको ज्ञानले उनको परिवारलाई अहिले सम्म एक ढिक्का बनाएर राखेको उनले बुझेकी छिन । 

परियोजना भित्रका सदस्यहरुले गरेको सफल्ता प्रती संतुष्ट हुदै संस्थाका अध्यक्ष ज्ञानेन्द्र कुमार यादव भन्नुहुनछ, “हाम्रो संस्थाले समूदायको विकासमा सहभागीताकालागी अरु पद्धतीहरु द्धारा पनि काम गरिरहेका छौ तर हेफरले मूल्यमा आधारित समूदायको सर्वाङ्गिण विकासको निम्ति तय गरेका आधारशिला सहितको यो पद्धती आवलम्बन गरि छरितो, छिटो र सामूदायिक विकासमा परिणाममुखि तरिकाले काम गर्न सहज तथा सार्थक भएको हामीले अनुभव गरेका छौ, त्यसैले त यस्ता सफल्ताहरु हाँसिल भएका छन ।”  

महेशराय यादव
« Back